बाबुः घरभित्रैका भगवान
पिता अर्थात अभिभावक, जो सितको हाम्रो सम्बन्ध यस संसारमा भावनात्मक हुन्छ, आत्मिय हुन्छ । पिताले हामीलाई यो संसार चिनाउछन्, सहि गलत बुझ्न मार्गप्रदशन गर्छन। उनी हाम्रो सुखका साथी र दुःखका मल्हम बन्छन्।
अभिभावक अर्थात संरक्षक जसले हामीलाई बाह्य संसारबाटमात्र नभई हामी भित्रकै बिकारबाट पनि जोगाउछन। हामीभित्रको प्रतिभालाई हौसला, हिम्मत दिएर अझ बलियो बनाउछन् । र हामीलाई अटुट साथ दिन्छन् ।
साथ अर्थात त्यो साथीको उपस्थिती जसको अस्तित्व हाम्रो जिवनका भौतिक हिसाब किताब, लेनदेन, नाफानोक्सान, आम्दानी खर्च भन्दा धेरै माथि हुन्छ, त्यो साथी जसको साथ निसर्त हुन्छ, त्यो साथी जसको साथ निस्वार्थ हुन्छ र त्यो साथी जसले आफूभन्दा माथि आफ्नो सन्तान राख्छन, तिनी साथी, मातापिता नै त हुन्।
आजको मेसिनको युगमा जहाँ मानवीय सम्बन्धको मिठास र व्यक्तिले व्यक्तिसित बिताउने समय कम हुदै गएकोछ, यो समयमा बाबुको मुख हेर्ने दिनको महत्व अझ बढेको छ। वर्षको एक दिन यो नसोच कि कुन मिठाई, कति फल र के उपहार लिएर बाबू समक्ष प्रस्तुत हुने, बरु यो सोच, गएको समय कति चोटी फर्केर बाबुलाई हेर्न भ्यायौं या भ्याएनौं, कति चोटी वहाँले बोलाउदा, आफ्नो प्रेम र चिन्ताले केहि प्रश्न सोधिरहदा बिना झर्कोफर्को गरेर प्रस्तुत भयौ वा भएनौ, कति चोटी वहाँका आवश्यक्ता नभनीकनै पुरा गरिदियौं या पटक पटक सम्भाएपछि पुरा गर्यौ। बाबुलाई एककिलो स्याउ आज लगेर दिनु या, एउटा स्याउ चिरा पारी सबै परिवार बसेर संगै खानु, कुन ठूलो उपहार होला त? वर्षको एकदिन पकवान पकाएर खुवाउनु कि प्रत्येक दिन खाने टेबलमा समयमै पुगेर साथ दिनु, केसले बढि हर्ष र मानसिक सन्तुष्टि अनि स्वस्थ शरीर देला त?
यदि तिमीलाई लाग्छ, तिमी कहि कतै चुकेका छौ भने, आफुलाई समय छदै सच्याउ, किनकी तिमीले नकमाएका सम्पत्ति, सानमान त तिम्रो सन्तान र दरसन्तानले पनि कमाउलान, तिम्रा सपना पुरा गर्लान, तर तिमीले खर्चेको समय त कसैले पनि फिर्ता ल्याउदैन, त्यसैले जे सहि गर्नुछ, त्यो आजै गर र प्रत्येक आज गर्दै जाऊ। जसले चाहेरपनि बाबुको संरक्षण पाएका छैन, कहिले बाबु गलत निस्के, कतै भाग्यले ठग्यो, उनको पिडा तिम्रो पोल्टामा छैन, तिमीसित जे खुशी छ, त्यसलाई पुर्ण सम्मान दिदै बाँच। र यदि तिमी असल सन्तान बनेका छौ भने, तिमीलाई बधाई र सम्मान, तिम्रो उदहारण धेरैका लागि प्रेरणा बन्नेछ।
मान्छे पिता खोज्दै दरदर माथा टेक्छन्, भगवानमा पिता, बाबा खोज्छन्, ति भगवान तिम्रो घरमा प्रत्येक दिन तिमीलाई शुभदिन भन्न, तिमी फर्केर आउदा तिमीलाई ढोकामै स्वागत गर्न, तिमीसित गफ गर्न, संगै खाना खान र केहि नभएपनि एउटै कोठामा समय बिताउन तिम्रै घरमा छन्, तिनी भगवानको मुख सधै हेर, प्रत्येक दिन बाबुको मुख हेर्ने दिन हो।
संसारका सम्पूर्ण आदरणिय बाबुहरु, जसले पिताको भूमिकालाई उच्च न्याय दिदै, यो संसारलाई सुन्दर बनाउनु भएको छ वहाँहरुप्रति कोटी कोटी प्रणाम। जसले जीवन दिनुभयो, वहाँलाई आफ्नो गुणस्तरिय समय दिनसक्नुनै अनमोल उपहार हो।
