दिदी, भिनाजु र साली रहेछन्, टेम्पु चढे। सालीले दंग पर्दै सुनाइन, टेम्पु त म पहिलो पटक चढेको, राम्रै हुदो रहेछ। सानो ठाँउ, एउटाको गफ अर्कोको कानमा ठोक्कित हाल्छ, संवादसंगै फलाना ढिस्कानाको कान भनेर ठेगाना टाँसेर पठाउन नमिल्ने। सालीको कुरा सुनेर छेउमा बसेकी महिलाको पारो ताति त हाल्यो। उनले सन्केर भनिन्, नेपाली भएर टेम्पु चढेको छैन भनेर स्वांग नपारत। अपरिचित महिला अचानक उम्लिएको देखेर, साली को अनुहारमा ठुला ठुला अक्षरले ह्वाट् लेखेको म कल्पना गर्दैथिए। लाग्यो अब सन्किने पालो सालीको, या दिदीले आफ्नो बहिनीको बचावमा केहि बोल्निकी, वा भिनाजुको हिरो इन्ट्रि हुनेछ संवादमा। तर त्यस्तो त केहि भएन। संगै यात्रा गरिरहेका चौथा अपरिचित महिला बोलिन, वहाँहरु काठमाडौं बाहिरको हुनुहुदो रहेछ, जहा टेम्पु चल्दैन, तपाई कुरै नबुझि त्यतिकै सन्किनु भयो दिदी। नेपालीहरुको यहि बानी खराब छ, कुरै नबुझि निर्कौल निकालिहाल्छन्। यस्तो लाग्दै थियो म एक पारिवारिक बैठकमा छु, जहाँ सबैलाई सबैको बारेमा सबै कुरा थाहा छ। र यो संवादमा बिचार मैले पनि गाली खाए, म पनि त नेपाली नै हुँ, तर मैले त केहि निर्कौल निकालेको थिइन, टेम्पुलाई दिने भाडा त निकालेको थिइन, त्यो निर्कौल के हो कुन्नी। तर, आफ्नो पक्षमा एक अपरिचित महिला बोलेको सुनेर, सालीको अनुहारमा अझ ठुला अक्षरले थ्याङक्यु लेखेको मैले पुनः कल्पना गरे। उनीहरु एकअर्काको मुखामुख गरे र चाबहिल पिपलबोटमा झरे। कथाका मुख्य पात्रहरु त झरे, तर बाँकी दुई महिलाको संवाद निकै लामो बेर चल्यो। म टेम्पु भित्रै संवादको ब्याडमिन्टन खेल हेर्दै थिए, मजालहोस, कुनै पनि एक महिलाको कर्क भुइमा खसेर हार मान्ने। केहि संवाद पछि, कुरै नबुझि प्वाक्क बोलेकोमा ति सन्किने महिलाले सरी भनिने, तर कसलाई सरी भन्ने, त्यो सालीको फोन नम्बरपनि अरु कसैले टिपिदिएका भए त हुन्थ्यो नि है। मैले त केहि कुरै बुझिन्।
ती रिसाहा महिलाको दुःख पनि थाहापाइयो। उनी कृषक रहिछिन्। संस्थाको कार्यक्रममा यिनकै भाषामा कोहि नकचढिहरुले स्वांग पारेको रिस, आज साली माथि खनिएको रहेछ।
कताको रिस कता पोखिन्छ, कसालाई भन्नुपर्ने सरी कता भन्न पुगिन्छ, अडियो र भिडियोको तालमेल नमिलेको क्लिप हेरेको जस्तै कथाका पात्र र संवाद सिंक्रोनाइज नै नभएको यात्राको अनुभव रह्यो आज।
